सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले ग्रामीण क्षेत्रको यातायात पहुँच विस्तार तथा कृषि उत्पादनको बजारीकरणलाई सहज बनाउने उद्देश्यले चागुले टोल–वासपाटी–सिम्ले–ठोलाखेत–आफर बरको बोट कृषि सडक स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ।
सडक निर्माण सम्पन्न भएपछि बाह्रै महिना सवारी सञ्चालन हुने र कृषकलाई उत्पादन ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ।
नगरपालिकाका अनुसार उक्त योजनाको लागत अनुमान २ करोड ८७ लाख ३७ हजार ६८५ रुपैयाँ रहेको छ। निर्माण कम्पनीसँग १ करोड ९२ लाख ५९ हजार २२१ रुपैयाँमा सम्झौता गरिएको हो, जुन लागत अनुमानभन्दा करिब ३२ प्रतिशत कम हो।
योजनाअन्तर्गत पक्की नाला निर्माण, सडक ढलान, प्लम वाल, मेसिनरी वाल तथा अन्य आवश्यक संरक्षण संरचना निर्माण भइरहेको छ। वर्षायाममा सडक भत्किने तथा आवागमन अवरुद्ध हुने समस्या समाधान गर्न विशेष ध्यान दिइएको नगरपालिकाले जनाएको छ।
स्थानीय कृषकका अनुसार सडकको अवस्था कमजोर हुँदा कृषि उपज बजारसम्म पुर्याउन कठिनाइ हुने गरेको थियो। निर्माण सम्पन्न भएपछि ढुवानी खर्च घट्ने, कृषि उत्पादनको बजार पहुँच बढ्ने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
नगरपालिकाले कृषि उत्पादन बढ्दै गएका क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने नीति लिएको छ। सोही नीतिअनुसार कृषि सडकलाई वर्षभरि सञ्चालनयोग्य बनाउने उद्देश्यले सडक स्तरोन्नतिको काम अघि बढाइएको हो।
प्राविधिकहरूका अनुसार सडकमा आवश्यक जलनिकास, ढलान र संरक्षण संरचना निर्माण गरिएकाले दीर्घकालसम्म सडक टिकाउ हुने अपेक्षा गरिएको छ। यसले प्राकृतिक विपद्का कारण हुने क्षतिसमेत न्यून गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
नगरपालिकाले निर्माण कार्य समयमै सम्पन्न गरी स्थानीयवासीलाई गुणस्तरीय सडक सुविधा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।
योजना सम्पन्न भएपछि कृषि, व्यापार, शिक्षा, स्वास्थ्य तथा दैनिक आवागमनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।





