काठमाडौँ- नेपाल सरकारले सामाजिक सञ्जाललाई सूचीकरण हुन दिएको सात दिनको म्याद गएरातिदेखि सकिएको छ । म्याद सकिँदा पनि सूचीकरण हुन नआएका सामाजिक सञ्जालहरूलाई कसरी बन्द गर्नेभन्नेबारे आज दिउँसो निर्णय गर्ने सरकारको तयारी छ ।
नेपालमा सबैभन्दा बढी चल्ने सामाजिक सञ्जाल फेसबुक, इन्स्ट्राग्राम, व्हाट्सएप, एक्स, युट्युबलगायत सूचीकरण हुन आएका छैनन् ।
आज दिउँसोदेखि सूचीकरण हुन नआएका सामाजिक सञ्जालहरू बन्द हुँदै जाने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रविन्द्र प्रसाद पौड्यालले बताए ।
‘कसरी बन्द गर्नेबारे आज दिउँसो केहि निर्णय’ पौड्यालले भने ‘सूचीकरण हुन नआएका सामाजिक सञ्जालहरू बन्द हुँदै जानेछन् ।’
उनका अनुसार कुन कुन सामाजिक सञ्जाल बन्द कसरी गर्ने भन्नेबारे मन्त्रीस्तरीय निर्णय हुनेछ ।
यसअघि मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेकाले कार्यान्वयनमा आउने उनले दाबी गरे ।
हालसम्म नेपालमा टिकटक, भाइबर, निम्बुज, विटक, ओपोलाइट सूचीकरण भएका छन् । टेलिग्राम र ग्लोबल लिंक दर्ता प्रक्रियामा छन् ।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले टिकटकलाई बन्द गरेपछि सूचीकरण गर्न आएको थियो ।





