• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

गौरा पर्व : सांस्कृतिक परम्परा र श्रद्धाको उत्सव

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र १४, शनिबार १५:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दोधारा चाँदनी (कञ्चनपुर)- सुदूरपश्चिमका गाउँबस्तीहरूमा यतिबेला गौरा पर्वको चहलपहल सुरु भएको छ । पर्वकै लागि रोजगारीका लागि अन्यत्र गएका घर फर्किएका छन् ।

    यहाँका हरेक बस्तीमा नयाँ पहिरनमा सजिएका महिलाहरु माङ्गल, फाग गाउँदै गरेको भेटिन्छन् भने पुरुषहरु खेल्ने खेलले यहाँका बस्ती देउडामय भएका छन् । साउनको पुत्रदा एकादशीदेखि सुरु हुने यस पर्वलाई स्थानीय भाषामा गोःरा भनिन्छ । यस क्षेत्रमा प्राचीन कालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरादेवीका रुपमा पूजा गरिँदै आएको छ ।

    भाद्र महिनामा मनाइने गौरा पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्ने गर्छ । शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । विवाहित नारीहरुले आफ्नो कूल परम्पराअनुसार पुरुषहरु जस्तै यज्ञोपवितका रुपमा दुवधागो लाउने प्रचलन यस क्षेत्रमा रहेको छ । पहिलो चोटी उक्त दुवधागो लगाउनका लागि उजेली गौरा परेको पर्व सर्वप्रथम पुत्रदा एकादशीको ब्रत बसेपछि मात्र गौराको उपासना गर्न मिल्ने यहाँका जानकारहरु बताउँछन् ।

    लोक साहित्यका जानकार कविराज भट्टले पुत्रदा एकादशीको ब्रत बसिसकेकी विवाहित महिलाले भाद्र महिनाको बिरुडा पञ्चमीका दिन ब्रत बसेर बिरुडा भिजाएपछि गौरा पर्व विधिवत रुपमा सुरु हुने बताउनुहुन्छ । उहाँका अनुसार उक्त अवसरमा माङ्गल गीत (सगुन, फाग) सहित तामाको ताउलीलाई गाईको गोबर, दुबो र जौंतिलले सजाएर राख्ने प्रचलन छ । पाँच अन्न बिरुडा (मास, गहत, गहू, कलौं, गुरुस) तामाको ताउलीमा हाली सुगन फाग गायनसँगै भजाउने गरिन्छ ।

    “पञ्चमीको दिन भिजाएका बिरुडा दोस्रो दिन सगुन, फाग गायनसँगै महिलाहरुले पानीको मुहानमा लगेर पाँच पल्ट धुने गर्छन”, भट्टले भने, “धारामा साँवाधानको गौराको सानो मूर्ति बनाएर स्थापना गरी बिरुडा तथा चन्दन, अक्षता, पाती, दुप, दीप, फल आदिले पूजा गरी पुनःफाग गायनसँगै बिरुडा भिजाएकै स्थान घरमा आउँछन् ।” सप्तमीको दिन चेलीबेटीहरुले खेतबाट धान, साँवाधान, कुर्जो आदि हालेर रातो कपडा वा घुम्टीमा बेरेर गौराको मूर्ति बनाएर गौरा घरमा ल्याउने चलन छ ।

    “गौरालाई डालोमा राखेर शुद्ध आसनमा स्थापित गरिन्छ एउटा काठको पिर्कोमा पहेलो कपडा बनाएर महेश्वर स्थापना गर्ने गरिन्छ”, उनले भने, “साँझपख ब्रतालु महिलाहरु गोराघरमा जम्मा भइ ब्रहमण बोलाइ गोरामा अभिशेष गरी पञ्चपूर्वाङ्गसहित गौरामहेश्वरको पूजाआजा गर्दछन ।” सप्तमीको दिन धागोमा विशेष किसिमका सात गाँठा भएको धागोलाई गौरामा चढाइ अभिशेष गरेपछि महिलाले घाँटीमा धारणा गर्ने गर्दछन् ।

    दुर्वाष्ठमीको दिन गौराको महत्वपूर्ण दिन हो । यसलाई अठ्यावाली भन्ने गरिन्छ । यो दिन महिलाले सगुन फागसहित गौरालाई गौरा हुँदै आइरहेको आँगनमा लगेर राख्छन् । सबै महिलाहरु जम्मा भइ अठ्यावाली गायनसँगै बिरुडाले गौराको पूजा गर्ने यहाँका जानकार आचार्य सरस्वती अवस्थी बताउँछन् । अठ्यावालीकै बीचमा प्रसङ्गअनुसार एउटा धर्मकथा प्रस्तुत गरिन्छ ।

    “अठ्यावाली पूरा भएपछि फलफट्काउने काम गरिन्छ । दुई जना पुरुषहरुले च्यादरमा गौरामा चढाएका फलफूल तथा बिरुडालाई आकाशतिर पूर्व, पश्चिम, उत्तर दक्षिण र आकाशतिर फाल्ने गरिन्छ ।” उनले भने, “आकाशमा फालिएका बिरुडा प्रसादलाई ब्रतालु महिला तथा उपस्थित सबैले देवीको प्रसादका रुपमा आकाशबाटै ग्रहण गर्ने गर्छन् ।”

    उनले महिलाले आफ्ना पतिलगायत घरका सबै सदस्यहरुको बिरुडाले टाउँको पूज्ने र आर्शीवचन दिने चलन छ । “हामी गौराको प्रसाद दिएर आफूभन्दा साना ठूला सबैलाई आशिर्वाद दिन्छौँ”, उनले भने, “गौरा पर्व नारीप्रधान पर्व हो यो पर्वमा हामी नारीलाई धेरै अधिकार दिएको छ ।”

    अठ्यावालीपछिका दिनमा भने यहाँका देवालयमा महिला तथा पुरुषको खेल सुरु हुन्छ । पुरुषले ढोलक र मिजुराका स्थानीय देवीदेवता तथा पौराणिक कथावस्तुमा आधारित ढुष्को, धमारी, ठाडोखेल, चैत आदि प्रस्तुत गर्छन् । कतिपय स्थानमा महिला पुरुषका दोहोरी देउडा हुने गरेका छन् । तीन/चार दिन खेल चलेपछि उपयुक्त साइत हेरी गौरा विसर्जन गरिन्छ ।

    गौरा पर्व यस क्षेत्रको मौलिक पहिचान बोकेको पर्व मात्रै नभएर नारी सम्मानको पर्व भएको लोकसाहित्यका जानकार रमेश पन्त मीतबन्धु बताउँछन् । “गौरा पर्वको अवसरमा घरपरिवारका सबै सदस्यका लागि एकजोर नयाँ लुगा किन्ने परम्परा छ”, उनले भने, “घरबाहिर रहेका मानिसहरु पनि गौराको बिरुडा प्रसाद ग्रहण गर्नका लागि घर फर्किने, चेलीबेटी तथा इष्टमित्रहरुलाई घरमा बोलाउने रमाइलो गर्ने चलन छ ।” उनले गौरा धार्मिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, पौराणिक, ऐतिहासिक तथा अन्य विविध दृष्टिकोणले महत्व बाकेको पर्व रहेको बताए ।

    Post Views: 231
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.