गण्डकी- यहाँको पोखरा महानगर– १७ स्थित सेती नदीको डिलैमा छ एउटा टिनको टहरा । प्राय त्यही टहरा भित्र भेटिन्छिन् ५५ वर्षीया मनमाया थापा मगर र उनकी २३ वर्षीय छोरा पूर्णबहादुर ।
पूर्णबहादूर पूर्ण अपाङ्ग छन् । न उनको दृष्टि छ न त शरीर चल्छ । बोली पनि छैन । टहरा बनाउने थोरै जग्गा पनि आफन्तले उपलव्ध गराएका हुन् । झरीको बेला भित्ताबाट रसाएको चिसोले पूर्णको ओछ्यानसम्मै भिज्छ । भूइँमा ओछ्याइएको म्याट्रेसमा काठको मुढोझैँ पल्टिरहेका हुन्छन् पूर्ण ।
जसरी चिसोले रसाइरहन्छ भित्तो । त्यसरी नै २३ वर्षदेखि मनमायाको आँखा रसाइरहेको छ । उनलाई थाहा पनि छैन कि उहाँका आँखा कहिले ओभाउने हुन् । “छोरा जन्मिँदै अपाङ्गता देखियो”, उनी भन्छिन्, “त्यसयताका कुनै दिन मेरा लागि चाडबाड, रमाइलो, साथीभाई आफन्त रहेन, यही छोराको स्याहार गर्दैमा जिन्दगी बित्दो छ ।”
छोरालाई ओछ्यानमै ख्वाउनुपर्छ । छोराको उमेरसँगै तौल बढ्दै गएपछि मनमायाले दिसापिसाब गराउन सक्दिनन् । “आफैँले सोहोरेर फाल्ने गरेकी छु”, उनले सुनाइन् । बिहान उठेदेखि रातिसम्म छोराको हेरचाह गर्नु उनको दैनिकी हो । हुन त कुन आमालाई सन्तानप्रतिको माया नहोला र ? तर छोराप्रति आमाको माया बुझ्न मनमायाको वास्तविकता हेरे पुग्छ । उनीहरुलाई देख्ने जोकोहीको आँखा रसाउँछ ।
“छोरो सानो हुँदा त दिसापिसाब गर्न बोकेर शौचालय लैजान्थेँ । अब त छोरो ठूलो भयो, मेरो पनि उमेर ढल्कँदो छ । बोक्नै सक्दिन”, उनले भनिन्, “विस्तारामै फोहर गर्छ । जति सफा गरेपनि पुग्दैन । हिजोआज त कोठा नै गन्हाउन थालेको छ ।”
जब छोरालाई भोक लाग्छ अनि घुरे जस्तो आवाज निस्किन्छ । त्यसपछि खाना ख्वाउँछिन् मनमाया । छोराले कमाएर दिने अवस्थामा उसैको स्याहारसुसार गर्नुपर्दा दुःख लाग्ने उनी बताउँछन् । तर आफ्नै कर्मलाई दोष दिँदै चित्त बुझाउँछिन् मनमाया । पूर्णका बुवा लक्षु थापा मगर एक निजी विद्यालयको बस चालक हुन् । श्रीमानको कमाइकै भरमा घर चलेको छ । तर त्यो पर्याप्त अवश्य छैन ।
त्यसो त पूर्णबहादुर मनमाया र लक्षुको पहिलो सन्तान हैन । पाँच छोरामध्ये कान्छो हुन् पूर्ण । जन्मजातनै अपाङ्गता देखिएपछि एक महिनासम्म गण्डकी अस्पतालमा उपचारका लागि राख्दा पनि कुनै सुधार भएन । टहरादेखि बाहिर निकाल्दा उकालो उक्लनुपर्दछ । छोरोलाई एक संस्थाले दिएको ह्विलचेयरसमेत काम लागेन । आर्थिक अभावका कारण उपचारमा ‘फलोअप’का लागि कतै लैजान नसकेको पनि वर्षौँ बितिसकेको छ ।
पूर्णको नाममा (क) श्रेणीको अपाङ्गताबापत्को सुरक्षा भत्ता प्राप्त हुन्छ । सो भत्ताले केही हदसम्म पालनपोषणमा सहयोग पुगेको पूर्णका बाबु लक्षु थापामगरले बताए । घरमा आउने कतिपयले परिवारको दुःख देखेर खानेकुरा र नगदसमेत दिने गर्छन् । उनले भने, “पोखरामा कतिपय वडामा सुकुम्वासी र अव्यवस्थित बसोबासी भए पनि हाम्रो जस्तो परिवारको त्यसमासमेत पहुँच छैन ।”
जग्गा पाउने होभने जेनतेन एउटा सानो भए पनि आफ्नै घर बनाएर अपाङ्गता भएका छोरालाई सजिलोसँग सुरक्षित छानामुनी राख्ने धोको मगर दम्पत्तिको थियो । अब त त्यो धोको पनि पुरा नभइ नै जिन्दगी बित्छ भन्नेमा ढुक्क छन् उनीहरू ।
उनीहरुको जेठो कृष्णले रङरोगन सम्बन्धी काम गर्छन् । माइला कर्णले धातुसम्बन्धी र साहिँलो सुरजले रेष्टुरेण्टमा काम गर्छन् । अर्को विष्णु वैदेशिक रोजगारीमा साउदी छन् । तर उनीहरु सबै आ–आफ्नै जहान परिवार पाल्नमै ठिक्क छन् ।
आफू काठमाडौँको थानकोटमा जन्मिएको बताउँछन् लक्षु । “आमाबाबाले छ महिनाको हुँदा बोकेर पोखरा ल्याउनुभएको भन्ने सुनेको हुँ”, उनले भने, “म १४ वर्षको हुँदा बाबु आमा गुमाएँ । मेरा आफन्त को हुन्, कहाँ छन् मलाई केही थाहा छैन ।” उमेरले ५८ वर्ष पुग्नुभएका लक्षुका आफ्नै दुःख छन् । लामो समय पोखराको बजारमा हाते ट्याक्टर चलाएका उनले टोली आउँदा पोखरा महानगरपालिका– ८ बाट नागरिकता बनाए ।
विसं २०७८ को जनगणनाअनुसार कूल जनसङ्ख्याको २.२ प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै प्रकारको अपाङ्गता देखिन्छ । सो अनुसार मुलुकमा पूर्ण अपाङ्गताको सङ्ख्या ५७ हजार ४८६ रहेको छ । नेपाल जनसङ्ख्या तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ मा कूल जनसङ्ख्याको ६.७ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको उल्लेख छ ।
जैविक संरचना वा ‘जीन’मा देखिने खोट, गर्भमा रहँदा पर्याप्त पोषण तत्वको अभाव, विभिन्न दुर्घटना आदि जस्ता कारणले बच्चा अपाङ्गता भएको जन्मन सक्ने विज्ञहरु बताउँछन् । कतिपय लुला लङ्गडा वा विकलाङ्ग हुन सक्नदछन् भने कोही आँखा नदेख्ने, कोही कान नसुन्ने, बोल्न नसक्ने विभिन्न कारणले अपाङ्गता देखिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बाल विभाग प्रमुख डा रामचन्द्र बास्तोला बताउँछन् ।
विपन्न, असहाय परिवारमा अहिले पनि कतिपय अपाङ्गता भएका व्यक्ति सुविधायुक्त आवास, खानपान, सरसफाइ, उपचारको व्यवस्था नहुँदा कष्टकर जीवनयापन गर्न बाध्य भएको अपाङ्गता स्वावलम्बन सङ्घ नेपाल कास्कीका संस्थापक अध्यक्ष गिरधारी सुवेदीले बताए । कास्कीमा (क) श्रेणीका पूर्ण अपाङ्गता भएका एक हजार ४०० भन्दा बढी छन् ।
अध्यक्ष सुवेदीका अनुसार अपाङ्गता भएकालाई सहयोग र मायाको खाँचो पर्दछ । जसका लागि घरपरिवार, समाज र राज्य संयन्त्र सहयोगी बन्नु अपरिहार्य छ । यस्ता अपाङ्गता भएका व्यक्तिको पालनपोषण र सुरक्षाको जिम्मा सरकारले लिन सकेमा कम्तिमा त्यस्ता कैयौँ मनमाया र लक्षु जस्ता दम्पत्तिको जिन्दगीका दुःखमा थोरै भएपनि मल्हम पट्टी लाग्ने थियो । रासस





