काठमाडौँ- चीनबाट सामान ल्याउने सडक अवरूद्ध भएपछि व्यवसायीहरूको छाता संगठन नेपाल हिमालय सिमापार वाणिज्य संघले भन्सार विभागलाई ज्ञापनपत्र बुझाएको छ ।
सोमबार संघका अध्यक्ष रामहरि कार्की टोलीले भन्सार विभाग प्रमुखलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै छिटोभन्दा छिटो व्यवसाय सहज गराउन ध्यानाकर्षण गराएको संघका महासचिव रामचन्द्र पराजुली पराजुलीले बताए ।
व्यापारीहरूले रसुवागढी र तातोपानी दुबै नाकामा समयमै भन्सार जाँचपासको सुविधा नपाउँदा आयात-निर्यातमा अवरोध हुने भएकाले समस्या तत्काल समाधान गर्न माग गरेका छन् ।
असार २४ गते चीन भएर बग्ने लेन्दे नदीमा आएको भीषण बाढीका कारण रसुवागढीको सडक भत्किँदा दुईतर्फी व्यापार ठप्प भएको छ । सडक अवरुद्ध भएपछि केरुङ हुँदै आउने सामानको आयात र नेपालबाट जाने सामानको निर्यात प्रभावित बनेको छ । आयात-निर्यात ठप्प हुँदा व्यापारीहरूले ठूलो आर्थिक क्षति भोग्नु परेको र लामो समयको प्रतीक्षाका कारण बजारमा समेत वस्तु अभाव हुने खतरा देखिएको उनीहरूले बताएका छन् ।
रसुवागढी नाकामा बेलिब्रिज निर्माण कार्य अघि बढिरहेकाले हाल सरकारी निकाय र संघसंस्थाले सक्रिय भएर काम गरिरहेको भए पनि व्यापार सहज बनाउन तत्काल भन्सार कार्यालय र सम्बन्धित विभागले थप पहल गर्नुपर्ने माग छ । व्यापारीहरूले भन्सारमा समयमै काम गराएर केरुङबाट आएका सामान छिटो पास गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको रहेको वरिष्ठ उपाध्यक्ष सागर घिमिरेले बताए ।
तातोपानी नाकामा व्यापार चाप बढेको र त्यहाँ पनि समयमै सामान जाँच पास गर्न भन्सार कार्यालयमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म अतिरिक्त समयमा सेवा दिनुपर्ने व्यापारीहरूको माग रहेको अध्यक्ष कार्कीले बताए । यसबाहेक, लार्चाको आइसिडिमा रहेका सामानलाई छिटो जाँचपास गरेर काठमाडौँ ल्याउन र काठमाडौंको आइसिडिबाट पनि छिटो प्रक्रिया पूरा गरेर व्यापारीहरूलाई सहज सेवा दिन सम्बन्धित निकायलाई अनुरोध गरिएको उनले जानकारी दिए ।






