सुदूरपश्चिम- पछिल्लो दुई हप्तादेखि बढेको उखरमाउलो गर्मीले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । बढेको गर्मीले दैनिक काम गर्न र हिँड्डुल गर्न असहज बनेपछि जनजीवन कष्टकर बनेको हो ।
उकुसमुकुस र छट्पटिने गर्मी बढ्दा रातिको समयमा समेत अनिदो बस्नुपर्ने बाध्यता आएको स्थानीयवासीले बताएका छन् । स्थानीय यज्ञराज भट्टले भने, “शीतलताका लागि पटक पटक नुहाउनु परेको छ, छट्पटिने गर्मीले पाँच दिनदेखि राति अनिदो बस्नुपरेको छ ।”
बढेको गर्मीले मजदुरी गरेर जीविका चलाउने वर्ग, वृद्धवृद्धा र स्कुले बालबालिकालाई बढी प्रभावित गरेको छ । अधिकतम तापक्रम त्यति नबढेको भए पनि सापेक्षिक आद्रता र न्यूनतम तापक्रम बढ्दा बढी गर्मीको महसुस भएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय साहले बताए । रासस





