काठमाडौँ- बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री कृष्ण कुमार तामाङ (समीर)ले सिन्धुपाल्चोकको मेलम्ची, तिपेनी हुँदै भोताङसम्म पुग्ने सडकको शिलान्यास गरेका छन् । मन्त्री तामाङले शनिबार मेलम्चीमा एक कार्यक्रमबीच मेलम्ची, तिपेनी हुँदै भोताङ सम्म पुग्ने मेलम्ची खाल्डेखोला खण्ड सडक निर्माण कार्यको शिलान्यास गरेका हुन् ।
धेरै वर्ष अगाडिदेखि चुनावी भाषण बनेको यो सडक अब भाषणमा मात्रै नभई काम गरेरै देखाउनेगरी अघि बढेको मन्त्री तामाङले बताए । ‘जनताले भाषणमा नभई काममा विश्वास गर्छन्’ मन्त्री तामाङले भने ‘सडकलाई प्राथमिकता दिएर काम गर्ने जनता माझ गरेको प्रतिबद्धता पुरा गर्ने क्रममा यो सडक शिलान्यास भयो ।’
त्यस्तै मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले धेरै प्रयासपछि बजेट पार्न सफल भएको बताउँदै कसैले पनि व्यक्तिगत तथा पार्टीगत रुपमा जस लिन जरुरी नरहेको बताए । ‘पर्यटकीय धार्मिक स्थल पाँचपोखरी पुग्ने मुख्य बाटोको रूपमा रहेको यो सडक पाँचपोखरी तथा मेलम्ची नगरको मात्रै नभई सबै नेपालीहरूको हो’ मेयर तामाङले भने ‘साथै यस सडकका कारण मेलम्ची नगरपालिकाले धेरै आलोचना खेप्नुपर्यो । छिटोभन्दा छिटो सहज यात्राको वातावरण बनाउनु छ ।’
उक्त सडक आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय, सिन्धुपाल्चोक चौतारामा ईफाता/गेहेन्द्र जे.भीसँग ठेक्का सम्झौता गरी संचालन गर्न लागिएको हो ।





