काठमाडौँ- काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले राज्यका सुरक्षा सङ्गठनबीच सहकार्य एवं समन्वय गर्दै महानगरप्रहरीले काम गर्नुपर्नेमा जोड दिएका छन् ।
३३औं महानगर प्रहरी दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले कानुन, नीतिनियम पालना तथा कार्यान्वयन गराउन सक्रिय भएर लाग्न नगरप्रहरीलाई अनुरोध गरे ।
प्रमुख बालेनले भने, ‘महानगरमा अतिक्रमण हटाउने, सार्वजनिक सम्पत्ति संरक्षण गर्ने तथा सुशासन एवं सुव्यवस्था कायम गर्न महानगर प्रहरीले निर्वाह गरेको भूमिकाको म सराहना गर्दछु ।’
मेयर बालेनले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताए । उनले सानोमा आफूले हलिउड फिल्म हेर्दा खेरी सिटी पुलिसले गरेको जस्तो काम अहिले काठमाडौँ महानगर प्रहरीले गरिरहेको बताए । फिल्ममा देखाइएको काम रियलमा हुनु खुसीको कुरा भएको उनले बताए ।
उनले काठमाडौँ महानगरबाट धेरै पालिकाहरूले काम गर्ने शैली सिक्न खोजेको पनि बताए । त्यसमा महानगर प्रहरीको ठुलो योगदान रहेको उनको भनाई छ । काठमाडौँ महानगरपालिका भित्रका सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, अतिक्रमण हटाउने, महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरूमा नगर प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए ।
प्रधानमन्त्री ओलीलाई बालेनको सन्देश- लिपुलेक हाम्रो भनेर चीनलाई सम्झाउन नर्बिनुहोला
उनले भने- ‘धेरै पालिकाहरू छन्, धेरै ठाउँहरू छन् । काठमाडौँ महानगरपालिकाबाट केही सिक्न चाहन्छन् । जुन ठाउँहरूले काठमाडौँ महानगरपालिकाबाट केही सिक्न खोज्नुहुन्छ, त्यो सिकाइमा तपाईंहरुको ठुलो योगदान छ । सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि लिएर काठमाडौँ महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरूमा तपाईँहरूको उल्लेखनीय योगदान रहेको छ । सानोमा हुँदा रमाइलो याद आउँछ, हामी हलिउड फिल्महरू हेर्थ्यौँ, पुराना पुराना फिल्महरू हेर्दा खेरी त्यसमा न्युयोर्क सिटी पुलिसको काम कारबाही हेर्दा खेरी लाग्थ्यो काठमाडौँ लगायत देशका विभिन्न पालिकाहरूमा सिटी पुलिस कस्तो हुनुपर्छ भन्ने । त्यस्ता कुराहरू सिनेमामा मात्रै हेर्न पाइन्थ्यो पहिला । र अचेल चाहिँ तपाईँहरूको काम हेर्दा खेरी कहिलेकाहीँ सिनेमा हेरेजस्तो पनि लाग्छ । त्यो चाहिँ खुसीको कुरा हो ।’
त्यसअवसरमा यस वर्षको ‘महानगर प्रहरी गौरव’ पुरस्कार नगरप्रहरी वरिष्ठ निरीक्षक लक्ष्मी महर्जनलाई प्रदान गरिएको थियो भने ‘उत्कृष्ट महानगर प्रहरी पुरस्कार’ हवल्दार बालकृष्ण कार्कीलाई र ‘महानगर प्रहरी पुरस्कार’ हवल्दारद्वय विजय तामाङ र मणिराम खनाल हवल्दार तथा प्रहरी जवान फिलिपी सारु मगरलाई प्रदान गरिएको थियो ।
विसं २०५० भदौ १४ गते स्थापना भएको महानगर प्रहरी बलान हाल ३६२ जना कार्यरत छन् । प्रहरी बलले गत वर्ष नियम उल्लङ्घन गरेका २० हजार ७३४ सवारीसाधन धनी र तोकिएका स्थानबाहेक अन्यत्र फोहर फाल्ने ३९७ जनालाई कारबाही गरेको जनाएको छ । उक्त कारबाहीबाट महानगरलाई रु तीन करोड ५६ लाख प्राप्त भएको छ ।





