काठमाडौं– नेपाल महिला संघका संस्थापक एवम् नेपाली महिला आन्दोलनकी नेतृ मंगलादेवी सिंहको २९ औं स्मृति दिवस मनाइएको छ । स्मृति दिवसको सन्दर्भमा आज शोभा भगवती डल्लु र बुद्धनगरमा रहेको सिंहको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको छ ।
मंगलादेवी सिंहका छोरासमेत रहेका उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहले शालिकमा माल्यार्पण गरे । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी सिंह भएको बताउँदै अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको बताए ।
‘महिलाहरुको हकहितका लागि जहानियाँ राणा शासकहरुबिरुद्ध आन्दोलन गर्नु आफैंमा जोखिमपूर्ण काम थियो । त्यतिबेला ‘महिलाहरुलाई शिक्षामा हक, नीतिगत तहमा प्रतिनिधित्व र ंपैतृक सम्पत्तिमा हक स्थापित गर्न राणा शासनको त्यो असहज बेलामा मंगलामाको नेतृत्वमा भएको आन्दोलनको महत्वपूर्ण भूमिका छ,’ उहाँले भन्नुभयो । महिले संघ,प्रदेश र स्थानीय तहसहित विभिन्न निकायमा महिला प्रतिनिधित्व अनिवार्य हुनुमा त्यतीबेलाको आन्दोलनको देन रहेको पनि उपप्रधानमन्त्री सिंहले बताए । त्यस्तै, सत्याग्रह, जनआन्दोलनका बेलामा पनि सिंहले महत्वपूर्ण भूमिका निर्वाह गरेको सिंहले चर्चा गनुृभयो ।
कार्यक्रममा मंगलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहले मंगलादेवी सिंह नेपाली महिलाहरुका लागि प्रेरणा रहेको बताइन् ।
महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि २००४ साल साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला संघ स्थापना भएको थियो ।





