काठमाडौँ- नेपालले चीन र भारतलाई छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको छ । नेपाली भूमि लिपुलेकबाट चीन र भारतले व्यापार गर्ने सहमति गरेपछि नेपालले असन्तुष्ट जनाउँदै कूटनीतिक नोट पठाएको हो ।
नेपाली भूमिबाट चीन र भारतले व्यापार गर्ने सहमति गर्दा पनि नेपाल सरकारप्रति चौतर्फी विरोध सुरू भएको थियो । संसददेखि सडकसम्म विरोध भइरहँदा सरकारले कूटनीतिक नोट पठाएको हो ।
यसअघि नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकाल्दै विरोध गरेको थियो । तर त्यसको जवाफ फर्काउँदै भारतले उक्त भूमि नेपालको हो भनि दाबी नपुग्ने बताएको थियो ।
हालै नेपाल सरकारले पठाएको कूटनीतिक नोटमा छलफल गरेर सीमा विवादमा समाधान खोजिने उल्लेख रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।
नेपाल सरकारले १० वर्षमा ६ पटक कूटनीतिक नोट पठाइसकेको छ । जसअनुसार २०७२ जेठमा भारत र चीनले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सम्झौता, २०७७ बैशाख २९ गते नेपाली भूमि हुँदै मानसरोबर जाने सडक उद्घाटन गरेको विषयमा पनि कूटनीतिक नोट पठाएको थियो ।
त्यस्तै २०७७ मंसिर ७ गते नेपाल सरकारले नेपाली भूमि समावेश गरेर नक्सा जारी गरेको विषयमा र २०७७ मंसिर १० गते रकम भुक्तानी गरिसकेपछि कोभिड–१९ को खोप प्राप्त नभएको विषयमा कूटनीतिक नोट पठाएको थियो ।
त्यसैगरी २०७८ भदौ २१ गते जयसिंह धामी महाकालीमा बगेको र हेलिकोप्टर नेपाली भूमिमा उडाएको विषयमा र २०८२ भदौ ५ गते भारत र चीनबीचमा नेपाली भूमि हुँदै व्यापार गर्ने सहमति गरेपछि कूटनीतिक नोट पठाएको हो ।





