• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

महाशिलावासीद्वारा फलामखानी उत्खनन् गर्न माग

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र ३, मंगलवार ११:३० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    पर्वत- यहाँको महाशिला गाउँपालिका–६ मा रहेको सम्भावित फलामखानी उत्खनन गर्न स्थानीयवासीले पुनःमाग गरेका छन् ।

    विगत चार वर्षअघि पनि खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौँको टोलीले खानीको उत्खनन गर्न प्रक्रिया सुरु गरेको भए पनि अध्ययन, अनुसन्धानमात्र गरेर फर्किएको थियो । भूगर्भविद्हरूले इआरटी (इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी)का माध्यमबाट अध्ययन गर्दा प्रशस्त फलाम रहेको प्रमाण भेटिएको जनाइएको थियो । कुनै ठाउँमा सतहमा फलाम भेटिएको थियो भने कुनै स्थानमा जमिनमुनि भएको पाइएको बताइएको छ ।

    फलामखानीमा दुई किलोमिटर लम्बाइमा खानी फैलिएको अनुमान छ । तर स्थानीयले पटकपटक फलामखानीको उत्खनन माग गर्दा पनि कतैबाट तदारुकता नदेखाएपछि निरास बनेका छन् । कहिले केन्द्र सरकार त कहिले प्रदेश सरकारसँग उत्खननको माग गरे पनि नीति तथा कार्यक्रममा चर्चा हुने तर बजेट विनियोजन नहुने समस्या भएकोे महाशिला –६ का वडाध्यक्ष गोविन्दबहादुर विकले बताए ।

    धुवाँकोटे फलामले चिनिएको खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र लुम्बिनीस्थित नेपाल पर्वत खनिज उद्योगबीच २०६७ पुस ८ गते सम्झौता पनि भएको थियो । तर उक्त कम्पनीले लामो समय चासो नदेखाएपछि विभाग आएर अध्ययन गरे पनि अन्य प्रक्रिया भने सुरु नभएको उनले जानकारी दिए ।

    उक्त फलामखानी सदरमुकाम कुश्मा बजारबाट झण्डै ३५ किलोमिटरको दूरीमा रहेको छ । महाशिला वडा नं ५ लुङ्खुदेराली र वडा नं ६ फलामखानी क्षेत्रमा फैलिएको यो खानीको विस्तृत सर्वेक्षण गरी उत्खनन गर्न लामो समयदेखि स्थानीयवासीले माग गर्दै आएका छन् ।

    स्थानीयले उत्खनन गरेको फलामका सामग्री २०४० सालसम्म पनि किन्न र देख्न पाइने यहाँका बुढापाकाहरु बताउँछन् । यहाँको फलाम अन्यत्रजस्तो प्रशोधन गर्नुपर्ने नभएको उनीहरुको भनाइ छ । खानीबाट निकालेको फलाम सिधैँ तताएर आवश्यक सामग्री बनाउन सकिने खालको भए पनि पछि कोइला अभावमा उत्खनन् गर्न छाडेको स्थानीय प्रेमबहादुर सुनारले जानकारी दिए ।

    उनका अनुसार तत्कालीन समयमा यहाँको फलामबाट बनेका घरेलु हतियार बागलुङ, पाल्पा, स्याङ्जाका विभिन्न गाउँमा बिक्री हुन्थ्यो । आधुनिक मेसिन र सडकको यात्रा नहुने भएकाले पर्वत आसपासका खोलामा निर्माण भएका पुलमा समेत यहीँको फलामबाट बनेका लठ्ठाको प्रयोग गरिएको थियो । मोदीवेणी र जैमिनीघाटका पुलमा अझै पनि फलामखानीको फलामले बनेका लठ्ठाका पुल देख्न सकिन्छ ।

    गाउँभरि सम्भावित फलामको खानी भएकाले नै उतिबेला यो गाउँको नामै फलामखानी राखिएको वडाध्यक्ष विकले बताए । फलामखानीमा बसोबास गर्ने विक र दर्जी परिवारबाट कम्तीमा एक जना उतिबेला फलामको खानीमै बास बस्ने गरेको वडाध्यक्ष विकको भनाइ छ । यहाँको फलामखानी उत्खनन् हुने हो भने मुलुककै आर्थिक अवस्था सुधारमा फाइदा पुग्नुका साथै सयौँ युवायुवतीले रोजगारीको अवसर पाउने उनी बताउँछन् ।

    घरदैलोमा भएको फलामको खानी उत्खनन गर्न नसकेर आयातित फलाम प्रयोग गर्र्नुपरेको स्थानीय बलबहादुर क्षेत्रीले बताए । तत्कालीन जिल्ला विकास समितिको पहलमा २०६० को दशकमा सरकार र विभिन्न खानी तथा भूगर्भशास्त्रीहरूसँग यहाँको खानी उत्खनन गर्न विभिन्न प्रयास गरेको भए पनि सम्भव नभएको उनको भनाइ छ ।

    यसैबीच बन्द अवस्थामा रहेको उक्त फलामखानी सञ्चालन गर्ने प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गरेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गत शुक्रबार आयोजित मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता कार्यक्रममा विभागीय मन्त्री तथा सचिवलाई फलामखानी तत्काल सञ्चालनमा ल्याउन निर्देशन एका हुन् । नयाँ र युगान्तकारी काम गर्न सबै मन्त्री तथा सचिवलाई निर्देशन दिँदै धौवादीभन्दा पनि राम्रो फलाम पर्वतको फलामखानीमा हुनसक्ने भन्दै त्यसलाई तत्काल सञ्चालनमा ल्याउनका लागि अध्ययन अनुसन्धान थालिहाल्न निर्देशन दिएका हुन् । उनले विशेषगरी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेलाई अध्ययन, अनुसन्धान गर्न लगाइहाल्न निर्देशन दिएका हुन् ।

    प्रधानमन्त्री ओलीले भने, “पर्वत तथा कास्कीका विभिन्न खोलामा अहिले पनि साविक फलामखानी गाविसको मैमडाँडाको फलामले बनेका पुलहरू रहेका छन् । विशेषगरी पोखराको भिमादमा अहिले पनि साङ्लवाला पुल झुन्डिइरहेको छ । त्यहीँका लोहारहरूको मेहनतले बनाएको पुल अझै झुण्डिएको छ ।”

    प्रधानमन्त्री ओलीले पर्वतको फलामखानीलाई धौवादीको फलामसँग मिलाएर उन्नत खालको फलाम उत्पादन गर्न सकिने बताए । उनले मुलुकको आर्थिक समृद्धि, रोजगार सृजना र आयातित फलामलाई विस्थापित गर्नका लागि यस्ता खालका उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । रासस

    Post Views: 279
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.