• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

बेलुका ७ बजेपछि मझुवागढी प्रवेशमा किन लगाइयो रोक ?

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र ३, मंगलवार ०९:२९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बेलुका ७ बजेपछि धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिर तथा किरात ऐतिहासिकस्थल मझुवागढी प्रवेशमा रोक लगाएको छ ।

    सौन्दर्यकरण गर्नेक्रममा झिलीमिली बत्तीसहित विभिन्न संरचना तयार गरिएसँगै राति अबेरसम्म मानिसहरुको भीडभाड तथा होहल्ला हुन थालेपछि नगरपालिकाले भदौ १ गतेबाट लागू हुने गरी बेलुका ७ बजेपछि भगवती मन्दिर तथा मझुवागढी प्रवेशमा रोक लगाएको हो ।

    कालिका भगवती मन्दिर तथा मझुवागढीमा राति अबेरसम्म मानिसको भीडभाड तथा होहल्ला भएको गुनासो आएपछि शान्ति सुरक्षाको दृष्टिकोणले बेलुका ७ बजेपछि आवतजावतमा रोग लगाइएको नगर प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

    “धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिर तथा मझुवागढी प्रवेशका लागि निश्चित समय निर्धारण गर्नुपर्ने सुझाव आएको छ, जिल्ला सुरक्षा समिति तथा स्थानीयको सुभावको आधारमा हाटडाँडाको मुख्य प्रवेशद्वारबाट बेलुका ७ बजेपछि प्रवेश निषेध गरिएको छ”, उनले भने, “बेलुका ९ बजेपछि सम्पूर्ण बत्ती बन्द गरिन्छ, यदी कोही व्यक्ति तोकिएको समयभन्दा अगाडि नै प्रवेश गरेको भए राति ८ बजेभित्र प्रवेशद्धारभन्दा बाहिर निस्कनुपर्नेछ ।”

    नगरपालिकाले रातको समयमा धार्मिक तथा पर्यटकीयस्थल प्रवेशमा रोक लगाएको बारेमा औपचारिक सूचनासमेत जारी गरेको छ । नगरपालिकाको निर्णयलाई बेवास्ता गरेको खण्डमा नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अगाडि बढाइने वडा नं ५ लफ्याङका वडाध्यक्षसमेत रहनुभएका प्रवक्ता घिमिरेले जानकारी दिए ।

    जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको कालिका भगवती मन्दिर तथा मझुवागढीलाई सौन्दर्यकरण गर्नका लागि सङ्घ, प्रदेश तथा स्थानीय सरकार (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका) को ठूलो लगानी भइरहेको छ । दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल करिब ४५ मिनेट उकालो चढ्दा धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिर तथा मझुवागढी पुगिन्छ ।

    माझकिरात भनेर चिनिने खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेपछि उनीहरूको आवतजावतमा सहज पार्नका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । हिन्दू र किरात धर्मावलम्बीको सङ्गमस्थल मझुवागढीलाई ‘फुलैफूलको पहाड’ बनाउने उद्देश्यसहित पदमार्गको दायाँबायाँ र विभिन्न प्रजातिका फूल रोपिएका छन् ।

    नगरपालिकाले सुरु गरेको अभियानअन्तर्गत लालीगुराँस, सुनाखरी, चाँप, जाकाराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपीसल्ला, जाइफूल, कपुर, पुवाले, मसला, असारेफूल, गुलाबलगायतका बहुवर्षे फूलका बिरुवा रोपिएका छन् ।

    किरात ऐतिहासिकस्थल मझुवागढी, कालिका भगवती मन्दिर तथा बुद्धेश्वर महादेव गुफा आसपासका आसपासका ठाउँमा बहुवर्षे फूलका बिरुवा रोपेर पर्यटकका लागि आकर्षक गन्तव्यस्थल सुरु गरिएको दिक्तेल नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

    धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढीमा विसं १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, पिकनिक (वनभोज) खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्ने लगायतका व्यक्ति तथा समूह पुग्ने गरेका छन् ।

    किरात ऐतिहासिकस्थल मझुवागढीको उत्तरी दिशामा बारुद ढुङ्गा र हतियार निमार्ण गर्ने भट्टी रहेको छ । गढीको पूर्वमा फूलपातीडाँडा, राँगा आहल र दमाहा ढुङ्गा रहेको छ । त्यस्तै गढीको बीच भागमा मौली रहेको छ ।

    उसबेला रणवीर राजाका रैतीहरूले दसैँ मान्नका लागि ल्याएका राँगा बोका राख्ने ठाउँलाई मौली भन्ने गरिन्थ्यो । मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ । त्यसको केहीमाथि राजाको दरबार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ छ । गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ रहेको छ भने गढी वरिपरि बम्करसमेत रहेको छ ।

    मझुवागढीको केही तल कालिका भगवती मन्दिर रहेको छ । मन्दिरमा दैनिकजसो बाख्राको पाठी बली दिने गरिन्छ । मझुवागढीमा हरेक वर्षको उभौली र उधौली चाड अर्थात् वैशाखे र मङ्सिरे पूर्णिमामा पूजा गर्दै साकेला नाच्ने गरिन्छ ।

    धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा साकेला नाचका साथै रामनवमी, बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तीजलगायतका चाडपर्वमा ठूलो मेलासमेत लाग्ने गर्दछ । उच्च हिमश्रृङ्खला तथा तराईका समथर भू–भागको अवलोकन गर्न सकिने मझुवागढीमा विशेषगरी शुक्रबार र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्छ ।

    धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । मझुवागढी पर्यटकलाई लक्षित गरेर फलामे रेलिङसहितको पदमार्ग निर्माण, घाम तथा पानी परेको समयमा ओत लाग्ने स्टीलट्रस तथा आराम गर्ने स्टीलको फलैँचा र प्यास लागेको समयमा पिउने पानीको व्यवस्था गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो ।

    बाह्रै महिना आन्तरिक पर्यटकको उत्तिकै चहलपहल रहने मझुवागढीमा सरकारी कार्यालय तथा शैक्षिक संस्था छुट्टी भएको समयमा अझ बढी पर्यटकको आवतजावत हुने स्थानीयवासीले बताएका छन् । मझुवाको अर्थ माझ अर्थात् बीच भन्ने बुझिन्छ । मझुवागढीको पश्चिम दिशामा महुरेगढी तथा पूर्वमा चुइचुम्मागढी र दक्षिणमा खाम्तेलगढी रहेको छ ।

    चारैतिर गढी नै गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी भनिएको जानाकार बताउँछन् । समुद्री सतहबाट करिब दुई हजार मिटर अग्लो डाँडामा रहेको मझुवागढीबाट चारैतिरका गढी प्रस्ट देखिन्छ । रासस

    Post Views: 221
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.