काठमाडौँ- पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिको ‘’ब्राण्ड’ भएको बताएका छन् ।
पार्टी सम्वद्ध अखिल क्रान्तिकारीले शनिबार राजधानीमा गरेको कार्यक्रममा पुनले प्रचण्डले आफूलाई रुपान्तरण गर्न भने जरुरी रहेको बताए । प्रचण्डकै नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको र समाजवादको आधार बसाउन अझै केही समय उनको नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो ।
‘हामी अध्यक्ष प्रचण्डको नेतृत्वमा एकताबद्ध र गोलबन्द छौं । कमरेड प्रचण्ड परिवर्तनको राजनीतिको ‘ब्राण्ड’ हो, हामीले उहाँलाई ‘ब्राण्ड’का रुपमा स्थापित गरेका छौं । उहाँको ‘ब्राण्ड’ भ्यालु राम्रो छ ।’
यद्यपि अध्यक्ष प्रचण्डले पनि आफुलाई रुपान्तरणको प्रयत्न भने गर्नुपर्ने पुनले बताए । पुनले पटकपटक मन्त्री, सांसद् भएका र दशक अघिदेखि पार्टीको महत्वपूर्ण भूमिकामा रहेका नेताहरूले बिग्रिएको जति दोष प्रचण्डको थाप्लोमा हालेर उमिक्न नपाउने स्पष्ट गरे ।
‘कमरेड प्रचण्डले पनि आफूलाई रुपान्तरणको प्रयत्न गर्नुपर्छ । उहाँले त्यो गर्नैपर्छ । साथै हामी दोतश्रो तेश्रो तहका नेताहरू छौं । अध्यक्षको टाउकोमा सबै हालेर हामी उम्किन पाउँदैनौं’, पुनले भने, ‘हामी पनि कोही अर्थमन्त्री, कोही गृहमन्त्री, कोही ऊर्जामन्त्री, कोही विभिन्न खालका मन्त्री भएका छौं । मन्त्री हुँदा या सांसदमा हुँदा, पार्टीको उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव विभिन्न जिम्मेवारीमा छौं । पार्टीलाई राम्रैो बनाउने हाम्रो पनि दायित्व हुन्छ । हामीले सरकार र संसदमा हुँदा के राम्रा नराम्रा गर्यौं ? गर्न हुने र न हुने गर्यौं ? हामी आफूतिर पनि फर्कन तयार हुनुपर्छ । समीक्षा गरेर आन्दोलनलाई अगाडि बढाउन हामी तयार पनि छौं ।’
कमजोरी भएका ठाउँमा आत्मालोचना गरेर आफूलाई सच्याउनुपर्ने भन्दै पुनले सापेक्षित रुपमा नेपालका अन्य दलको तुलतामा माओवादी केन्द्रका अध्यक्ष र नेताहरू अरुभन्दा असल र मुलुकको हितप्रति इमान्दार रहेको दाबी गरे ।
दोश्रो तहका नेताहरूले पहिलो र पछिल्ल्लो पुस्ताबीच समन्यव र सन्तुलन मिलाएर पार्टीलाई गतिशिल बनाउने भूमिका खेल्नुपर्ने उनले बताए । ‘अनुभवी र परिपक्व पहिलो पुस्ता र जोश जाँगर भएको तेश्रो पुस्तालाई मिलाउँदा पार्टी संगठन गतिशिल हुन्छ । हामी दोश्रो पुस्ताका नेताहरूले अहिले त्यही भूमिका खेल्नुपर्छ । एकांकी रुमपा पुरानो ज्ञानले मात्र आजको दुनियाँ चल्दैन । नयाँ र पुराना पुस्ताले मात्र पनि चल्दैन । सबैतिर भत्काउँछु, सबै खत्तम, यो खत्तम, ऊ खत्तम म मात्र सही भनेर जता पनि ठोक्ने, जता पति गडगडाउने गरेर हुँदैन ।’





