काठमाडौँ- नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज सिन्धुपाल्चोकको तातोपानी नाकाबाट स्वदेश फर्काइने भएको छ ।
बाढीका कारण रसुवामा रहेको नेपाल–चीन मितेरी पुल बगाएपछि स्वदेश फर्कन नपाएका नेपालीलाई आज सिन्धुपाचोकको तातोपानी नाका हुँदै नेपाल फर्काउन लागिएको हो ।
उनीहरूलाई तातोपानीबाट काठमाडौँ आउनका लागि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका र पूर्वअरनिको यातायात समितिले बसको व्यवस्था गरेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले नेपाल सन्दर्भलाई बताए । उनीहरूलाई काठमाडौँ ल्याउनका लागि ७ वटा बसको व्यवस्था गरेको मेयर बस्नेतले बताए । ‘बाह्रबिसे नगरपालिकाले चार वटा गाडिको व्यवस्था गरेको छ’ मेयर बस्नेतले नेपाल सन्दर्भसँग भने ‘बाँकी ३ वटा केदार क्षेत्रीले पूर्वअरनिको यातायात समितिबाट मिलाउनु भएको छ ।’
भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाका अनुसार उनीहरूलाई खानपिनका लागि पनि तातोपानीमा नै व्यवस्था गरिएको छ । उनका अनुसार तातोपानीमा रहेको स्मल हेभन होटलमा खानपिनको व्यवस्था गरिएको छ । उनीहरूले खाएको खाना भोटेकोशी गाउँपालिकाले व्यवस्था गरेको हो ।
तातोपानी नाकाबाट नेपाल फर्काउन लागिएकामा सवारी चालक तथा बिरामी परेका, नियमित औषधि सेवन गरिरहेका र औषधि सकिएका गरी २०३ नेपाली रहेका छन् ।
बाढीका कारण अवरुद्ध भएको स्याफु्रबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा आए पनि मितेरी पुल सञ्चालनमा नआएका कारण तातोपानी नाकाबाट उनीहरूलाई नेपाल फर्काउन लागिएको हो ।
र, यो पनि





