काठमाडौँ- नेकपा एमाले सिन्धुपाल्चोकका पूराना नेता ईश्वरीप्रसाद श्रेष्ठलगायत नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् । बिहीबार माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रम गरी उनीहरू माओवादीमा प्रवेश गर्न लागेका हुन् ।
उनीहरूलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा भित्र्याउने तयारी थियो । तर प्रचण्ड विराटनगर गएपछि माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम हुँदैछ ।
श्रेष्ठसँग चौतारा साँगाचोकगढी नगरपालिका-१० का पूर्ववडाध्यक्ष विष्णु लामा र सिताराम गिरीलगायत पनि प्रवेश गर्न लागेको पूर्वमन्त्री समेत रहेका माओवादी नेता युवराज दुलाल शरदले नेपाल सन्दर्भलाई बताए । उनीहरूसँगै एमालेका अन्य कार्यकर्ता पनि माओवादीमा प्रवेश गर्न लागेको उनले बताए ।
लामा र गिरी नेकपा एमाले र माओवादी एकता टुटेपछि माओवादीबाट एमालेमा गएका थिए ।





