काठमाडौं– रूस-युक्रेन युद्धमा सहभागी भएका सिन्धुपाल्चोकका शोबित देउजाले रसियन नागरिकता पाएका छन् ।
युक्रेनबिरूद्वको लडाइँमा सहभागी हुँदा ९ दिनसम्म उद्दार नहुँदा पानीसमेत पिउन नपाएको उनले बताए ।
`नेपाल सरकारले हामीजस्ता हजारौं नेपाली युवालाई चिन्न नसकेको, बुझ्न नसकेको पीडा आज यो परदेशी भूमिमा बसेर झनै चिर्छ` उनले भनेका छन् `देशले नचिनेका सन्तानहरू आज परदेशका नागरिक बनिरहेका छन्, जुन सोच्दा गहिरो दुःख लाग्छ।´
देउजाको भनाइ जस्ताको त्यस्तै
जीवन र मृत्युको संघर्षमा
अनेकौं दुःख र कष्ट पार गर्दै आज नयाँ जीवन पाएजस्तो लाग्छ। तर यो कुनै रहर थिएन—यो बाध्यता थियो, जसले मलाई बाँच्न विवश बनायो। सायद यही पीडा र परिस्थिति बुझेर होला, रसियन सरकारले आज मलाई आफ्नो नागरिकता दिएको छ।
तर पनि मन कतै शून्य छ, किनकि म खुसी छैन। त्यो माटो जहाँ म जन्मिएँ, ती बा-आमा जसले ममा सास फुकिदिए, ती आफन्त, साथीभाइ, जुन देशका गली-कुना मेरा बाल्यकालका साक्षी थिए—उनीहरूलाई भेट्न अब भिजिट भिसा लिएर जानु पर्ने दिन आयो। यो सोच्दा मन निकै भारी हुन्छ।
आज म रसियन नागरिक भए पनि, मेरो आत्मा, माटो, संस्कार र पहिचान सधैं नेपाली नै हुनेछ। मेरो देश, मेरो नेपाल—सधैं मेरो शिरमाथि रहनेछ। माया मनबाट, मुटुबाट गर्नेछु।
जय नेपाल! जय नेपाल! जय नेपाल!
नेपाल सरकारले हामीजस्ता हजारौं नेपाली युवालाई चिन्न नसकेको, बुझ्न नसकेको पीडा आज यो परदेशी भूमिमा बसेर झनै चिर्छ। देशले नचिनेका सन्तानहरू आज परदेशका नागरिक बनिरहेका छन्, जुन सोच्दा गहिरो दुःख लाग्छ।





