काठमाडौँ- नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर पहिलो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
पहिलो चरणको आन्दोलनमा यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ ।
भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने, भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने कार्यक्रम रहेको छ ।
त्यस्तै भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।





