• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

जसले बनाएको मूर्ति मन्दिरमा चल्छ, तर मन्दिरमा चल्दैनन् उनी

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ९, शुक्रबार ११:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कञ्चनपुर- बेदकोट नगरपालिका–३ दैजीका ५७ वर्षीय प्रेम टमटा मूर्तिकारका रूपमा सुदूरपश्चिममै चिनिन्छन् । दुई दशकभन्दा बढी समयदेखि उनले तामा, पित्तल, काठ, सिमेन्ट र ढुङ्गा प्रयोग गरी सैकडौँ मूर्ति बनाइसकेका छन् ।

    उनलाई अधिकांशले प्रेम मूर्तिकार भनेर चिन्ने गर्छन् । सीप, परिश्रम र प्रतिबद्धताले उनको जीवन हिजोको गरिबीबाट आजको सम्मानसम्म ल्याएको छ ।

    तर सुविधाको कमीले उनको सृजनात्मक उचाइ अझै थुनिएको छ । बिहानै मोटरसाइकल चढेर मूर्ति बनाउन जाने र साँझ अबेर फर्कने उनको दिनचर्या रहेको छ । श्रीमतीसहित दुवै जना मिलेर एकसाथ यो कार्यमा संलग्न छन् ।

    उनले बनाएका मूर्तिमा शिव, पार्वती, नन्दी, हनुमान, कालिका, हात्ती, बाह्रसिङ्गा, सहिदका सालिकलगायत छन् । एक मूर्ति बनाउनका लागि १० देखि २५ दिनसम्म लाग्ने गरेको उनी बताउँछन् ।

    प्रेमले भने, “मूर्तिअनुसार पारिश्रमिक लिन्छु, सामान्य मूर्तिका लागि कम र श्रम बढी लागेको मूर्ति बनाउँदा बढी रकम लिन्छु, तर काम निरन्तर नपाइँदा थोरै कमाइ भएका बेला परिवारको खर्च धान्न मुस्किल हुन्छ ।”

    उनको वार्षिक आम्दानी करिब रु पाँच लाख जति छ । यो आम्दानीबाट उनले दैजीमा दुई कठ्ठा जमिन किनेर पक्की घर बनाइसकेका छन् । परिवारमा दुई छोरा, एक छोरी, श्रीमती र दुई नाति गरी सात जना छन् । छोराछोरीको विवाह पनि त्यही आम्दानीबाट गरेका हुन् ।

    तर सबै कुरा सहज छैन । उनले हालसम्म आर्थिक अभावले पित्तल र अन्य धातु पगाल्ने मेसिन, रङरोगन गर्ने उपकरण खरिद गर्न सक्नुभएको छैन । मूर्ति बनाउँदा पाएको पारिश्रमिक घर खर्चमै सकिने भएकाले उनले मेसिन खरिद गर्न नपाएका हुन् । उनी अहिले पनि सबै मूर्ति हातैले बनाउँछन् । पित्तल पगाल्ने, रङरोगन गर्ने विद्युत् मेसिन नहुँदा समय र श्रम बढी लाग्ने उनी बताउँछन् ।

    हातैले मूर्ति बनाउन धेरै समय र मेहनत लाग्छ । मेसिनले काम सजिलो र गुणस्तरीय बनाउन सहयोग पुर्याउने प्रेम बताउँछन् । नगरपालिकालाई मेसिन अनुदानमा उपलब्ध गराउन आग्रह गरिरहँदा पनि अहिलेसम्म सहयोग नपाएको उनको गुनासो छ ।

    उनको इच्छा छ, मेसिन पाएमा इच्छुक युवाहरूलाई निःशुल्क मूर्ति बनाउने कला सिकाउने । “हातैले काम गर्न युवाहरू इच्छुक छैनन्”, उनले भने, “यदि मेसिन भए काम सिकाउन सजिलो हुन्थ्यो र युवा स्वरोजगारमा लाग्ने थिए ।” उनका छोरा पनि मूर्तिकार बन्न चाहन्थे, मेसिन नहुँदा हातैले काम गर्न इच्छुक भएनन्, त्यही भएर हाल भारतमा मजदुरी गर्दैछन् ।

    प्रेमले मूर्ति बनाउने कार्यमा वर्षमा २० जना जति श्रमिकलाई काम दिने गरेका छन् । मेसिन पाए त्यो सङ्ख्या झन् बढ्ने उनी बताउँछन् । मूर्ति बनाउने क्रममा स्थानीय युवालाई रोजगारी दिन पाएकामा भने उनी खुसी व्यक्त गर्छन् । उनले नेपालका विभिन्न ठाउँ अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र काठमाडौँसम्म गएर मूर्ति बनाएका छन् ।

    युवावस्थामा घरमा काम नहुँदा प्रेम डडेल्धुराको डुँगरी गाउँबाट कसैलाई नभनी भारतको राजस्थान पुगेका टमटा त्यहाँ १६ वर्षसम्म मूर्ति बनाउने कारिगरसँग मजदुरका रूपमा काम गर्दै सीप सिकेर फर्किएका हुन् । “सुरूमा गाली खाँदै काम गरेँ, ढुङ्गा काँधमा बोकेर कारिगरको पछिपछि हिँडे”, उनी भन्छन्, “तर पछि आफैँ मूर्ति बनाउन सक्षम भएँ, यतिबेला भने स्वदेश फर्केर आफ्नै पहिचान बनाउने हुटहुटी लागेपछि घर फिर्ता भएँ ।”

    भारतबाट फर्किएपछि उनले गाउँमै मूर्तिकला सुरू गरे । अहिले उनी शिव, पार्वती, हनुमान, नन्दी, कालिका, हात्ती, बाह्रसिङ्गा, सहिद सालिक, काठका धार्मिक स्तम्भजस्ता मूर्तिहरू बनाउँछन् । कैलालीको धार्मिक क्षेत्र गोदावरीमा रहेको विशाल हनुमानको मूर्ति उनकै निर्माण हो । जुन बनाउन पूरा एक वर्ष लागेको थियो ।

    प्रेमले बनाउनुभएका मूर्तिले दर्जनौँ मन्दिरको शोभा बढाइरहेका छन् । “सीप छ, मेहनत छ, तर राज्यको सहकार्य र प्रविधिको अभावले हामी अझै अघि बढ्न सकिरहेका छैनौँ”, उनी भन्छन् । दलित समुदायको व्यक्ति भएकाले आफैँले बनाएका मूर्तिको पूजा गर्न मन्दिर जान नपाउँदा भने उनी असन्तुष्टि पोख्छन् ।

    प्रेमका श्रीमती लक्ष्मीले भनिन्, “हामीले बनाएको मूर्ति मन्दिरमा पूजा हुन्छ, तर हामीलाई त्यहाँ जान दिइँदैन, यो अपमान हो ।” छुवाछूतको यो व्यवहारले सामाजिक सद्भावलाई पनि चोट पुर्‍याएको उनी बताउँछिन् । रासस

    Post Views: 158
    • मन्दिर
    • मूर्ति
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.