काठमाडौँ- नेपाल-चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज सिन्धुपाल्चोकको तातोपानी नाकाबाट स्वदेश फर्काएको छ ।
बाढीका कारण रसुवामा रहेको नेपाल–चीन मितेरी पुल बगाएपछि स्वदेश फर्कन नपाएका नेपालीलाई आज सिन्धुपाचोकको तातोपानी नाका हुँदै नेपाल फर्काएको हो ।

उनीहरूलाई तातोपानीबाट काठमाडौँ आउनका लागि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका र पूर्वअरनिको यातायात समितिले बसको व्यवस्था गरेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए । उनीहरूलाई काठमाडौँ ल्याउनका लागि ७ वटा बसको व्यवस्था गरेको मेयर बस्नेतले बताए । ‘बाह्रबिसे नगरपालिकाले चार वटा गाडिको व्यवस्था गर्यो’ मेयर बस्नेतले भने ‘बाँकी ३ वटा केदार क्षेत्रीले पूर्वअरनिको यातायात समितिबाट मिलाउनु भएको हो ।’

भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाका अनुसार उनीहरूलाई खानपिनका लागि पनि तातोपानीमा नै व्यवस्था गरिएको थियो । उनीहरूले खाएको खाना भोटेकोशी गाउँपालिकाले व्यवस्था गरेको हो । भोटेकोशी गाउँपालिकाले फर्किएकाहरूको स्वास्थ्य परिक्षण गरेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

तातोपानी नाकाबाट नेपाल फर्काउन लागिएकामा सवारी चालक तथा बिरामी परेका, नियमित औषधि सेवन गरिरहेका र औषधि सकिएका गरी २०५ नेपाली रहेका छन् । जसमा दुई जना बालबालिका रहेका छन् ।






